जनकपुर, साउन २
मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी सोमबारदेखि शुरु भएको छ ।
सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।
तेह्र दिनसम्म मनाइने यस पर्वमा मिथिलानीहरु विभिन्न गीत गाउँदै श्रीमानले ल्याए वा पठाएको फरिया, घोघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन् । वर्षा ऋतुमा सर्पको भूमिमा आगमगन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ ।
मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ ।
गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन् । वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवन भएको स्पष्ट गरेका छन् ।



