पर्सा, साउन ११
पर्साको वीरगञ्जमा हराएकी ४ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेको छ ।
परिवारले दिएको सूचनाको आधारमा प्रहरी र गाउँले बालिकाको खोजीमा जुटे । साउन ७ मा विहान छप्कैयास्थित झाडीमा बालिकाको शव भेटिएको थियो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित छप्कैया घर भएकी ४ वर्षीया बालिका साउन ५ मा साँझ ७ बजेतिर हराइन् । बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष निकालेको छ । बलात्कार र हत्यामा संलग्न ३ नाबालक र १ जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद कार्कीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर २ घर भएका १७ वर्षीय सलमान खान उर्फ जफ्रुदिन, वीरगञ्ज महानगर–१६ घर भएका १९ वर्षीय सलमान खान, १२ वर्षका बालक र १६ वर्षका सैदुल्ला अन्सारी उर्फ करेल्हा छन् ।
साँझ घरबाट निस्केकी बालिकालाई १९ वर्षका सलमानले हात समातेर झाडीमा लगेको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयास्थित खाली जग्गाको झाडीमा ४ जनाले पालैपालो बलात्कार गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
प्रारम्भिक अनुसन्धानबाट १२ वर्षीय बालक संलग्न रहेको खुलेपछि प्रहरी अरु ३ जनासम्म पुगेको थियो । बलात्कार गरेर हत्यापछि सैदुल्ला अन्सारी भारतको नयाँ दिल्ली भागेका थिए । भारतीय प्रहरीसँगको समन्वयमा उनलाई गाँजियाबादबाट पक्रेर नेपाल ल्याइएको छ ।
बालिकालाई सामूहिक बलात्कार गरेपछि इँटा प्रहार गरि हत्या गरेको पर्सा प्रहरीको अनुसन्धानबाट खुलेको छ । बालिकाको दायाँ तर्फको गाला र टाउकोमा चोट लागेको छ । वीरगञ्जको विभिन्न ठाउँबाट पक्राउ गरिएका आरोपीहरुले ‘यौन प्यास मेट्न’ बलात्कार गरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।
आरोपीहरुले पालै पालो बलात्कार गरेको पनि स्वीकारेका छन् । मृतकको शव पोष्टमार्टम गरेर दाहसंस्कार गरिएको छ । आरोपीहरु विरुद्ध जबर्जस्ती करणी र ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
