जनकपुर, साउन २०

जनकपुरधाम उपमहानगरपालिकाले जानकी मन्दिर वरिपरि फुटपाथमा व्यवसाय गर्दै गुजारा चलाउँदै आएका साना तथा खुद्रे व्यापारीहरु मेयर मनोजकुमार साह विरुद्ध आन्दोलन गर्ने भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको निर्देशनमा सडक छेउ अवस्थित फुटपाथमा पसल थापेर व्यवसाय गर्दै आएका साना तथा खुद्रे व्यापारीहरुले आइतबारदेखि मेयर साहको विरोधमा आन्दोलन गर्ने भएका हुन् ।

सडक छेउको फुटपाथ खाली गरेको एक साता वितेपनि विपन्न वर्ग एवं गरिब तप्काका साना तथा खुद्रे पसल थापेर व्यापार गरि जिविकोपार्जन चलाउँदै आएका छन् । तर उनीहरुको समस्या प्रति जनकपुरधामका मेयर साह गम्भिर नरहेको आरोप लगाउँदै आन्दोलन गर्ने निर्णय गरेका छन् ।

जानकी मन्दिरमा भेला भएका ती व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले विपन्न तथा गरिब वर्गका लागि वैकल्पिक व्यवस्थापन नगर्न नचाहेकाले बाध्य भएर आन्दोलन गर्ने निर्णयमा पुगेको एक व्यापारीले बताए ।

स्थानीय नेता सुशील कर्णले सहज र सहमतीमा कुनै पनि बाधा र अवरोध नगरीकन समाज, स्थानीय सरकार र सरोकारवालाहरुको आग्रहमा फुटपाथमा व्यवसाय गर्नेहरुले मन्दिर वरिपरिको फुटपाथ खाली गरेपनि जिविकोपार्जनका लागि उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलन बाहेक अन्य विकल्प नरहेको बताए ।