जनकपुर, साउन ३१
सर्लाहीका दुई युवक जनकपुरधामस्थित एक होटलमा खाएको रकम समेत भुक्तानी नगरि फरार भएका छन् ।
सर्लाहीका २४ वर्षीय अंकित साह र प्रि–प्रोडक्सनका सञ्चालक प्रसान्त साहले जनकपुरधामस्थित दिपक होटलको १५ हजार रुपैयाँको बिल नतिरी सम्पर्कविहीन बनेको आरोप लगाइएको हो ।
उनीहरुले गत असार २८ मा पि–प्रोडक्सनको ब्यानरमूनि जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजना गरेको ‘मिस्टर एण्ड मिस प्रोभिन्स–२’ नामक कार्यक्रमको बेला सो होटलमा बसेका थिए ।
उनीहरुलाई जनकपुरधाममा कार्यक्रम आयोजना गर्न यहाँका स्थानीय युवाहरु बिक्की पाण्डेय, कलाम राईन, विपीन पाण्डेय, आदित्य राउत, आयुष झा, अमन झालगायतकाले सहयोग गरेका थिए ।
जनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँ दिएको समेत बताए ।
कार्यक्रम आयोजना गर्नुअघि खान, बस्न र रिहल्सल गर्नका लागि आफूले नै उनीहरुलाई दिपक होटलसँग सम्पर्क गराएको बिक्कीले बताए । कार्यक्रम समाप्त भईसकेपछि उनीहरुले होटलको १५ हजार, प्रिन्टिङ पार्टनरको १५ हजार र नमूना बस्तीमा भाडामा लिएको कोठाको पैसा पनि नतिरी फरार भएको बताए । बिक्कीले पछि पैसा माग्दा उल्टै आफ्नो बारेमा अंकितले सामाजिक सञ्जालमा अनाप सनाप लेख्ने गरेको गुनासो समेत सुनाए ।
उनले भने, ‘अब त फोन गर्दा फोन पनि उठाउँदैन । उल्टै मेरैबारेमा फेसबुकमा अनाप सनाप लेख्दिन्छ । मैले आफ्नो साथी सम्झेर सुरु सुरुमा उनीहरुलाई सहयोग गरेको थिएँ । आफ्नै रिस्कमा होटलमा पनि सबै व्यवस्था मिलाइदिएको थिएँ । तर, अन्त्यमा साथीले नै धोका दियो । सबै खाएर भाग्यो ।’
बिक्कीले अब होटलका सञ्चालक कमल पासवान र प्रिन्टिङ गराएको ठाउँबाट पैसाको लागि निरन्तर आफूमाथि दबाद आइरहेको सुनाए । उनले आफूहरुले यी दुबैजनाको बारेमा पछि खोज तलास गर्दै जाँदा फैशन शोको नाममा विगतमा पनि यीनिहरुले धेरैसँग ठगि गरेर भागेको कुरा आफूलाई पत्ता लागेको बताए ।
यता पि प्रोडक्सनका सञ्चालक प्रसान्त साहसँग कुराकानी गर्न खोज्दा उनले आफू धेरै व्यस्त रहेको कुराकानी गर्न चाहेनन् भने बुधबार उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिने होटेल व्यवसायीले जनाएका छन् ।
