जनकपुर, भाद्र १
निहारिका राजपुत (सोनाली सिंह)माथी बलात्कार गरेको आरोपी शिवराज श्रेष्ठलाई थुनामा राख्ने अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले प्रहरीसंग अभद्र व्यवहार गरेको घटनामा अनुसन्धान गर्नका लागि थुनामा राख्न ५ दिनको म्याद दिएको हो ।
मंगलबार साँझ निहारिका प्रकरणमा सोधपुछका लागि पुग्दा प्रहरीमाथी नै दुव्र्यवहार गरेको भन्दै प्रहरीले शिवराजलाई पक्राउ गरेको थियो । निहारिका प्रकरणमा सोधपुछका लागि प्रहरी शिवराजको घर पुगेको थियो, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने ‘शिवराजले उल्टै प्रहरीलाई गालीगलौज गर्न थालेपछि पक्राउ गर्नु परेको थियो ।’
न्याय नपाएसम्म अनशन नतोड्ने निहारिकाको अडानपछि गृह मन्त्रालयको दवाबमा शिवराजलाई पक्राउ गरिएको प्रहरी श्रोतको दावी छ । यद्यपि आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले पहिले नै सफाई दिई सकेको छ भने अहिले सो मुद्दा जनकपुर उच्च अदालतमा रहेको छ । उच्च अदालतमा निहारिका प्रकरणको पेशी भदौ ५ गते छ ।
निहारिकाले गत शुक्रबार राष्ट्रपति कार्यालय अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको हो । उनको आत्मदाह प्रयासपछि कानुनमन्त्री गोविन्द बन्दी आफै अस्पताल पुगेर निहारिकासंग भेट गरेका थिए । मन्त्री बन्दीले अनशन तोड्न आग्रह गरेपनि निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान लिएकी थिइन् ।
निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २०७८ माघ २४ गते बलात्कारको दाबी नपुगेको भन्दै श्रेष्ठलाई सफाइ दिएका थिए ।
उनको सोही आदेशका कारण अहिले उनलाई सर्वोच्च अदालतले तानेको छ । न्यायधिश भट्टराईमाथी सोही फैसलाका कारण न्यायपरिषदले उनीमाथी छानबिन समेत शुरु गरि सकेको छ ।
