जनकपुर, भाद्र २

धनुषामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । मिथिला नगरपालिका–२ बस्ने १३ वर्षीय विशाल दासको मृत्यु भएको हो ।

जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित हजराचौकमा साइकलमा सवार बालकलाई बसले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।