मलंगवा, पुस २
सर्लाहीमा सशस्त्र प्रहरीका एक जवानलाई गोली लागेको छ । गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान ३२ वर्षिय सुरेश साहलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको जनाइएको छ ।
शुक्रबार साँझ सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ७ मा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान साहलाई थप उपचारका लागि टिचिङ्ग अस्पताल महाराजगञ्ज लगिएको छ ।
प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि उनलाई काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत रहेका सशस्त्र प्रहरी जवान साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएर निस्किदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो ।
सो घटनामा संलग्न रहेका सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुईजना फरार रहेको जनाइएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जनाए अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको छ ।



