वीरगंज, माघ २

पर्साको एक स्थानीय तहमै जुवा खेलिरहेको अवस्थामा प्रहरीले जनप्रतिनिधिसहित जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जिल्लाको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको हो । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामार्दा पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरिशंकर चौधरी लगायतलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष धमेन्द्र प्रसाद महतो थारु, पर्सागढी नगरपालिका वडा नम्बर ८ बस्ने नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, जितेन्द्र यादव, वडा नम्बर ३ स्थित जनता मावि पकडिया बढनियारका शिक्षक मुक्ति पाठक रहेको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तै वन कार्यालयका जमदार जीतबहादुर तमाङ्ग, वडा न २ ठेकेदार लक्ष्मण प्रसाद, पर्सागढी वडा नम्बर ९ बढेर्वा स्थित बडेर्वा मावि शिक्षक गौरी शंकर चौधरी, पटेर्वा सुगौली गापा वडा नम्बर ३ अब्दुल मुकेरी, पटेर्वा सुगौली स्वास्थ्य शाखाका सिनियर अहेब सखुवाप्रसौनी–१ दोहरीका दिपनारायण चौधरी, पर्सागढी वडा नम्बर २ का पूर्व वडा अध्यक्ष बेदमन दास चौधरीलाई जुवातास खेलेको आरोपमा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित बढनियारका भागवत साहको घरबाट नगद र तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ वटा बुक ताससहित आरोपितहरुलाई पक्राउ गरिएको पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

व्यवसायीकरुपमै जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा सोमबार स्थानीय प्रहरी एक टोलीले छापामारेको थियो ।