जनकपुर, माघ ३
जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादवलाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको जनाइएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
न्यु शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको संचालक समितिका अध्यक्ष यादवलाई संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।
सहकारीका बचतकर्ता कुभोलिया देवी यादवले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरेको उनले बताए ।
उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको छ ।’
ठगी आरोपमा पक्राउ परेका यादव मधेश प्रदेशको तत्कालिन कृषि मन्त्री शैलेन्द्रप्रसाद साहको सल्लाहकार समेत हुन् ।



