जनकपुर, माघ ७
नेपाल पिछडावर्ग (ओबिसी) महासंघको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।
जनकपुरधाममा दुईदिनसम्म चलेको विशेष महाधिवेशनबाट ओबिसी महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साहलाई सर्वसम्मतीबाट चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षद्वयमा शशिकुमार महतो र गोपीचन्द्र साह, महासचिवमा बबिता देवी, सचिवद्वयमा रामबाबु साह र राजकुमार साह तथा कोषाध्यक्षमा उर्मिला महतो (नूनिया)लाई चयन गरिएको छ ।
प्रवक्तामा रविन्द्र कुमार यादव र सदस्यहरुमा राजेश यादव तथा संजय प्रसाद साहलाई सर्वसम्मत चयन गरिएको छ ।
तत्काल १० सदस्यीय कार्यसमिति गठन गरि यसलाई पूर्णता दिन थप पाँचजना सदस्य चयन गरिने महासंघले जनाएको छ ।
नेपाल पिछडावर्ग महासंघले अध्यक्ष गजेन्द्र ठाकुरलाई बहुमत सदस्यको बैठकबाट निलम्बन गरेको थियो ।
अध्यक्ष ठाकुरलाई निलम्बन गरेर बोलाइएको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरी बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रीय अध्यक्ष साहले बताए । कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको यो संस्थाको गरिमालाई ठेस पुग्ने गरी उनले काम गरेको साहको आरोप थियो ।
नयाँ नेतृत्वले संस्थाको गरिमालाई बचाएर काम गर्ने महासचिव बबिता पूर्वेको भनाई छ । उनले अबको नेतृत्व पिछडावर्गको हकहितमा केन्द्रित भएर काम गर्ने दाबी समेत गरिन् ।



