जनकपुर, माघ १०

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले ऐतिहासिक तथा धार्मिक, सांस्कृतिसँग गाँसिएको धनुषाधामलाई विश्व सामु प्रचारप्रसारको माध्यमले चिनाउनुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

मंगलबार धनुषाधाममा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख मण्डलले पर्यटन तथा उद्योगको प्रचुर सम्भावना बोकेको धार्मिक नगरी धनुषाधामलाई पर्यटनसँग जोडेर अघि बढेमा यस क्षेत्रमा स्थानीयवासीहरुले पनि रोजगारी पाउने बताए ।

उनले धनुषाधाममा रहेको चुरे क्षेत्रमा अवस्थित वनजंगल, विभिन्न स्थल र यहाँको रमणीय र लोभ लाग्दा दृश्यलाई धार्मिक पर्यटनीयलाई देखाउन सकिने हुनाले यहाँको मौलिकतालाई जिवन्त राख्नुपर्ने पनि सुझाए ।

बधाई तथा सम्मान कार्यक्रममा सभामुख मण्डलले श्रीरामले सितासँग विवाह गर्नुअघि तोडेको धनुषको एक अंश धनुषाधाममा पनि भेटेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा व्यवस्थित र विकसित गर्न आफूले पहलकदमी लिने बताए ।

उनले धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेलाको प्रचारप्रसार गरी धार्मिक पर्यटक तान्नका लागि सबैले आ–आफ्नो स्तरबाट लाग्नुपर्ने बताए ।