जनकपुर, असार १७

जनकपुरधाममा गुठीको जग्गा कब्जा अभियान झैँ चलिरहेको छ । गुठीका जग्गामा घर निर्माण गर्नेको संख्या बढिरहेको छ । यसैक्रममा पछिल्लो निशानामा परेको छ जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित धनेश्नर नगरको रामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा । मन्दिरको ७ बिघा भन्दा बढी जग्गामा अवैध ढंगले कब्जा गरी भवन निर्माण भइरहेको छ ।

भूमाफियाको चलखेल र आर्थिक लेनदेनसँगै मन्दिरको सम्पूर्ण जग्गा व्यक्तिले कब्जा गरिसकेका छन् । ससाना झुपडीदेखि ठूला भवनसम्म निर्माण हुने क्रम जारी छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ का शिवशंकर नागवंशीले मन्दिरका महन्थ धनेश्वर दाससँग आफूले २०३२ सालमै मनखपमा खरिद गरेको कित्ता नम्बर ३०९ को ७ बिघा १ कट्ठा १० धुर जग्गा मध्येको १० धुर जग्गामा धनुषाको सबैला नगरपालिका वडा नम्बर–७ घर भइ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३, बिन्धी धनेश्वर नगरका नवल साहले जबर्जस्त कब्जा गरेर घर निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

उनले रामजानकी दुल्हा भगवान मन्दिरको नाममा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ को कित्ता नम्बर–३०९ को ७ बिघा १ कट्ठा १० धुर जग्गामध्ये राजन दाहालले लिएको मनखप जग्गादेखि पश्चिम भोला कवारले लिएको जग्गासँगै पश्चिम रोडदेखि पूर्व निज २ लग्गा उत्तर दक्षिण पूर्व पश्चिम पाँच लग्गा, पूर्व दक्षिण तर्फबाट १० धुर जग्गा स्व. महन्थ धनेश्वर दाससँग मनखपमा खरीद गरेको र महन्थ दास जीवित रहुन्जेलसम्म उनलाई र उनको मृत्युपश्चात मन्दिरमा प्रत्येक वर्ष कुत बुझाउँदै महन्थ दासले दिएको मनखप कागजअनुसार सोही समयदेखि हालसम्म आफूले भोग चलन गर्दै आएकामा कुनै विवाद नरहेको बताए ।

तर, नवलले भूमाफियासँगको संलग्नतामा बलजफ्ती जग्गामा विनानक्सा गैरकानुनी ढंगबाट मापदण्ड विपरीत घर निर्माण गरिरहेको नागवंशीका छोरा मुन्नाले बताए । उनले आफ्नो जग्गामा नवलले कानुन विपरीत निर्माण गर्न लागेको निर्माण रोक्का गरी विनानक्सा बनाइएको संरचना भत्काई उनलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम कारबाही माग गरेका छन् । उनले जग्गामा अवैध घर निर्माण गर्न÷गराउन सबै संयन्त्र परिचालन गरिएको र यसमा भूमाफियादेखि स्थानीय प्रहरी प्रशासन आर्थिक लेनदेनमा परेको दाबीसमेत गरेका छन् ।

विवादित जग्गामा घर निर्माण नगर्न गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरे पनि नवलले कसैको कुरा नमानी घर निर्माण गरिरहेको मुन्नाको भनाइ छ । घर निर्माणका विषयमा उजुरी परेपछि संस्थानले दुवै पक्षलाई बोलाएर छलफल गरी तत्काल घर निर्माण नगर्न भनेको थियो ।

गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द प्रसाद कर्माचार्यले गुठी संस्थान मातहतको तैनाथी जग्गामा व्यक्तिले निजी संरचना निर्माण गरे भत्काउने प्रतिबद्धता जनाए । उनले गुठी अधिनस्थ जग्गा व्यक्तिको हुन नसक्ने भन्दै अवैध निर्माण कार्य रोक्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । नवलले घर निर्माण गरिरहेको भए भत्काएर जग्गा गुठी मातहतमा ल्याइने उनको भनाइ छ । स्थानीय जिरोमाइल प्रहरी चौकीका इन्चार्ज चन्दन सिंहले त्यहाँ घर निर्माण नभइरहेको दाबी गरे पनि घर निर्माणको काम भने रोकिएको छैन । बुधबार दिउँसो सञ्चारकर्मीको टोली पुग्दा निर्माण भइरहेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जग्गाको कुत बुझाउँदै आएका शिवशंकर नागवंशीले महन्थसँग जग्गाको मोहियानी प्रमाणपत्र बनाउनुपर्ने बताए । उनले यदि यस्तो नभएको भए जग्गा कसैको नभई गुठी मातहतमा ल्याउनुपर्ने जिकिर गरे । जनकपुरधामभित्र गुठीका जग्गामा अवैध संरचना निर्माण भइरहेकामा चिन्ता व्यक्त गर्दै मेयर साहले रत्नसागर मठ र रामजानकी दुल्हा दुल्हिन मन्दिर आसपासमा निर्माण भएका अवैध संरचना भत्काउन कठिन रहे पनि नयाँ संरचना निर्माण हुन नदिन सबै सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘नगरभित्र पार्किङ स्थल निर्माण गर्न उपमहानगरलाई जग्गाका लागि गुठीसँग हारगुहार गर्नुपर्छ । यसले तपाईं बुझ्न सक्नुहुन्छ कि जग्गाको मालिक उपमहानगर नभई गुठी हो । त्यसैले यसमा गुठी बढी चनाखो हुनुपर्दछ । हामीले त्यसका लागि सहयोग मात्र गरिदिने हो ।’ उनले गुठी मातहतको जग्गामा व्यक्तिले नयाँ संरचना निर्माण गरिरहेको भए उपमहानगरलाई जानकारी दिन आग्रहसमेत गरे । उपमहानरले त्यस्ता अवैध निर्माण तुरुन्त भत्काउने उनको प्रतिबद्धता छ । नगर प्रमुख साहले यस्तो प्रतिबद्धता जनाइरहँदा जनकपुरधाममा गुठी मातहतका सैयौँ जग्गामा अहिले पनि रातारात निर्माण भइरहेको देखिन्छ । धनेश्वर नगरमै दर्जनौं नयाँ घर निर्माण भइरहेका छन् ।

गुठीका जग्गा अतिक्रमण

जनकपुरधामस्थित अधिकांश मठमन्दिरका महन्थ र पुजारीको संलग्नतामा अर्बौँ रुपैयाँ बराबरका गुठीका जग्गा बिक्री तथा अतिक्रमण गरिएको पाइएको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ । तर, तथ्यांकको कैयौँ गुणा बढी अर्बौं मूल्यका जग्गा भूमाफियाको कब्जामा छ । मन्दिर र पोखरीको सहर मानिने जनकपुरधाममा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य नै छेकेका छन् ।

पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोप भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुरधाम गुठीलाई आफ्नै जग्गा जोगाउन धौधौ छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरधाममा भएको तथ्यांकअनुसार साविकमा धनुषाका विभिन्न मठमन्दिरको ५ हजार ८ सय ३५ बिघा १० कठ्ठा १९ धुर जग्गा थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभर अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६ हजार १ सय २९ बिघा २ कठ्ठा १० धुर २ कनमा थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुटी, मठमन्दिर, मस्जिद, पोखरीलगायतका सार्वजनिक जग्गा÷स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार गरेको वर्षौं बितिसकेको छ । गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ ।

गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २ सय ९४ बिघा भन्दा बढी छ । २०४४ देखि २०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाइ बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा २०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाइ बसेका व्यक्तिलाई जग्गा रेकर्डमा परिणत गर्ने प्रावधानअनुसार लालपुर्जा दिइएको थियो ।

ऐनबमोजिम जिल्लाका गुठी जग्गामध्ये ३ हजार ६ सय ७३ बिघा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरको २ हजार ४ सय ५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, सुरक्षाकर्मी र राजनीतिक दलका नेता तथा भूमाफियाको संलग्नतामा जिल्लाभर अर्बौं मूल्यका सैयौँ बिघा जग्गा गायव भइसकेका छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका अनुसार ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भएको छ ।

तर, मन्दिरपिच्छे ठहरिएका बस्ती, लाग्ने गरेको बजार, बस पार्क, राजनीतिक दलदेखि विभिन्न संघसंस्थाका कार्यालयले मनमौजी जग्गा हडपेका र किनबेच समेत गरिरहेका छन् । पुरातात्विक सम्पदा, मठमन्दिर, सार्वजनिक सम्पत्ति, धार्मिकस्थलको संरक्षण गर्ने जिम्मा सबैको रहेको देखिएको छ । गुठीको जग्गा अतिक्रमण गरेर ठूला पक्की संरचना बनिसकेका छन् भने अतिक्रमणले गुठीको जग्गा त घट्यो–घट्यो, मठमन्दिरहरुको अस्तित्वमाथि समेत प्रश्नचिन्ह उठेको छ । संस्थानले नियुक्त गरेका मठमन्दिरका महन्थ, पुजारी नै जग्गा खरिदबिक्रीमा लागेका छन् । गुठी संस्थानको जग्गाको हकमा रक्षक नै भक्षक भएको देखिन्छ । सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्दै आएका जनकपुरधामका स्थानीय युवा भरत साह भन्छन्, ‘यहाँ माफियाको राज छ । मन्दिरदेखि संस्थासम्म सबैमा ब्रह्मलुट मच्चिएको छ । राजनीतिक खोल ओढेर मठमन्दिरको जग्गा भूमाफियाले अपचलन गरेका छन् ।’

राजदेवी मठको २७ बिघा ९ धुर जग्गामध्ये ९ बिघा ९ धुर जग्गा अतिक्रमण भइसकेको छ । ५ वर्षअघि गिरी महन्थको जिम्मेवारीमा आएपछि उनले जग्गा खोज्न थालेका छन् । पहिलाका पुजारी र स्थानीय राजनीतिक दलका नेताले मठको जग्गा अतिक्रमण गरेपछि अहिले बस्ती नै बसेको छ ।

गुठीका जग्गा ठेक्कामा

जनकपुरधामका गुठी अधीनस्त अधिकांश जग्गा ठेक्कामा लगाइएको छ । एकातर्फ जिल्लाभर अर्बौं मूल्यका सैयौँ बिघा जग्गा गायब भइसकेका छन् भने अर्कातर्फ ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भइसकेको छ । त्यस्तै, अधिकांश जग्गा ठेक्कामा लगाइएको देखिन्छ । जसको कुनै लेखाजोखा नै छैन । जनकपुरधाम–२३ बेलाकुट्टीस्थित रामजानकी दुल्हा दुल्हिन भगवान मन्दिरको कित्ता नम्बर ३०९ मध्ये १ बिघा ११ कठ्ठा १० धुर जग्गा ५ वर्षका लागि विश्वभारती फाउन्डेसन, सोही कित्ता मध्येबाट ५ बिघा १० कठ्ठा ३८ वर्षका लागि गजेन्द्र नारायण स्मृति प्रतिष्ठान र ४ बिघा जनकपुर अञ्चल बस व्यवसायी संघलाई २०८० पुस मसान्तसम्मका लागि ठेक्कामा दिइएको देखिन्छ ।

त्यस्तै, जानकी मन्दिर अधीनस्त रहेको जनकपुरधाम–१८ स्थित भोयल मठको जग्गाबाट ३२ बिघा १० कठ्ठा १६ धुर २० वर्षका लागि जनकपुरधाम उपमहानगरपालिकाले, जनकपुरधाम–३ स्थित लक्ष्मण मन्दिरको वडा नम्बर–१४ स्थित विभिन्न कित्ताको क्षेत्रफलबाट १६ बिघा १७ कठ्ठा १९ धुर १ कनमा ३० वर्षका लागि राष्ट्रिय खेलकुद परिषद्ले, राम मन्दिर अधीनस्त जनकपुरधाम–४ स्थित कित्ता नम्बर ३६ को ५ कठ्ठा ३ धुरमध्ये १० धुर २५ वर्षका लागि नेपाल पत्रकार महासंघ धनुषाले, रत्नसागर गुठीको जनकपुरधाम–१४ स्थित विभिन्न कित्ता नम्बरको १६ बिघा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि मणिपाल एजुकेसन मेडिकल ग्रुपले ठेक्कामा लिएको देखिन्छ ।

राममन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर १ मध्ये दक्षिणतर्फबाट २ कठ्ठा ५ धुर १० वर्षका लागि मिथिला नाट्यकला परिषद्ले, राममन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ४११ मध्येबाट ४ कठ्ठा १९ धुर ४ कनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले, राममन्दिर गुठीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ४९ को १३ कठ्ठा १२ धुर २ कनमा जग्गाबाट ४ कठ्ठा रामनारायण मिश्र चिन्तन प्रतिष्ठानले, बसही कुट्टीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ३१८ मध्येबाट ६ बिघा ३ कठ्ठा १५ धुर जनक हजारी विद्यापीठले, राममन्दिरको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ९५ को १ कठ्ठा १९ धुर १ कनमामध्ये उत्तर पूर्वतर्फबाट १५ धुर जग्गा २०७३ चैत ६ गते भएको सम्झौताबमोजिम निर्माण गर्ने र द्वितीय पक्षले ५ वर्षभित्र संग्रहालय निर्माण गरी प्रथम पक्षलाई हस्तान्तरण गर्ने सर्तमा मिथिला कला तथा संस्कृति संग्रहालयले निर्माणका लागि लिएका छन् ।

त्यस्तै, जानकी मन्दिरको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ५८ को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर १० वर्षका लागि राजर्षि जनक पतञ्जली योग साधना केन्द्रले, राममन्दिरको जनकपुरधाम–४ स्थित ८ कठ्ठा २ धुर २० वर्षका लागि राजर्षि जनक क्याम्पसले, जानकी मन्दिरको जनकपुरधाम–६ स्थित १४ कठ्ठा २ धुर ३ कनमामध्ये दक्षिणतर्फबाट ५ कठ्ठा १६ धुर १५ कनमा २५ वर्षका लागि राधामाधव समितिले ठेक्कामा लिएको छ ।

व्यक्ति विशेषलाई पनि ठेक्का

गुठीका बिघौँ जग्गा व्यक्तिविशेषलाई पनि ठेक्कामा दिइएको छ । इटहर्वा मठको इटहर्वा–३ स्थित कित्ता नम्बर १६३ को ७ बिघा १२ कठ्ठा १४ धुर ८ कनमा जग्गा १० वर्षका लागि सोही ठाउँका कृष्णा कुमार चौधरी, जानकी मन्दिरको जनकपुरधाम–११ स्थित कित्ता नम्बर २१ बाट १२ धुर १५ वर्षका लागि विश्वनाथ मिश्र भनिने सियाराम दास, राममन्दिर अधीनस्त सखुवा, हरकरवा, हात्तीसार, जलाडी निकास विर्ता, औराहा दिगम्बरपुरको विभिन्न कित्ताबाट १ सय ४८ बिघा २०७३ कात्तिक ११ देखि लागु हुनेगरी २०८३ कातिक १० गतेसम्मका लागि दिगम्बरपुर–२ का राजेश महतो र राममन्दिर बिरख कुट्टी अधीनस्त सुगामधुकरही, चक्कर, पौडेश्वर मौजाको विभिन्न कित्ताबाट १ सय २७ बिघा १० कठ्ठा ७ धुर २०७३ मंसिर ५ देखि लागु हुनेगरी २०८३ मंसिर ४ गतेसम्मका लागि सुगानिकास–८ का बरुण प्रसाद मण्डलले मनोमानी रुपमा ठेक्कामा लिएका छन् ।

त्यस्तै, सीताकुण्डको जनकपुरधाम–८ स्थित कित्ता नम्बर १२ को २ बिघा २ कठ्ठा १४ धुर ११ कनमा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि दीपनारायण साहले सञ्चालन गरेको जनकपुर ड्राइभिङ प्रशिक्षण केन्द्र र सीताकुण्डकै जनकपुरधाम–८ स्थित कित्ता नम्बर ९ को १५ कठ्ठा २ धुर ३ कनमा मध्येबाट १५ कठ्ठा जग्गा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि मोहन प्रसाद यादवले सञ्चालन गरेको एपी कन्स्ट्रक्सनले लिजमा लिएको छ ।

५२ कुटी र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका ऐतिहासिक एवम् पौराणिक महत्वका सम्पदाको अस्तित्व संकटमा पर्दै गइरहेको छ । भूमाफियाको संलग्नता र विभिन्न मन्दिरका महन्थको व्यक्तिगत स्वार्थका कारण यहाँका ऐतिहासिक सम्पदा दिनप्रतिदिन अतिक्रमणको चपेटामा परिरहेका छन् । सहरभित्रका अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोवीयाही पोखरी, पापमोचनी सर, पयश्विनी सरजस्ता दर्जनौँ पोखरीको अस्तित्व लोप भइसकेका छन् ।