पक्राउ बारे प्रदेशसभालाई जानकारी

खोजवाणी संवाददाता
राजविराज, भदौँ १८

कर्तव्य ज्यान मुद्दामा मधेश प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेका छन् ।

उनलाई सोमबार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्तासमेत रहेका एसएसपी प्रवीण पोखरेलले जनाएका छन् ।

एसपी श्रेष्ठले बताएअनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको बताए । प्रदेशसभा सदस्य यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित हुन् ।

प्रदेशसभा सदस्य यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा हाजिरसमेत गराइएको छ । अदालतले दिएको आदेशमा प्रदेशसभा सदस्य यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भनेको छ ।

२०६४ मा भएको हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी लामो समयदेखि फरारको सूचीमा थिए ।

यादवकै निर्देशनमा सप्तरीको साविक खोक्सरप्रवाहा गाविस वडा नम्बर १ का ३२ वर्षीय माओवादी नेता दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । साविक बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ स्थित बैरिया टोलमा पु¥याई गोली हानी चौधरीको हत्या भएको थियो ।

गोविन्द चौधरीको हत्या विषयमा जाहेरी परेपछि यादव फरार थिए । अदालतमा हाजिर हुन म्याद जारी गरिएपनि हाजिर नभई कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

मृतककी दिदी साविक धनगढी गाविस वडा नम्बर ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत ९ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

प्रदेशसभा सदस्य यादवलाई अदालतले मंगलबार बिहान १० बजे पुनः हाजिर गराउन भनेको छ ।

यता मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले समेत प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंह पक्राउ परेको जानकारी प्राप्त भएको जनाएका छन् ।
मधेश प्रदेशका सचिवालयले एक पत्र जारी गर्दै प्रदेशसभा कार्यसंचालन नियमावली, २०७५ को नियम २१० को उपनियम २ बमोजिम सूचना जानकारी प्राप्त भएको भनि जनाइएको छ ।