घटनाको सत्यतथ्य छानविन गर्न माग
खोजवाणी संवाददाता
सर्लाही, भदौँ २५
सर्लाहीको बरहथवामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका एक पत्रकारको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार साँझ सर्लाहीको बरहथवा–मधुवनी सडकखण्डमा पर्ने बरहथवा नगरपालिका नम्बर वडा नम्बर ८ को टाँडीस्थित गर्जहा पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय अभिषेक यादव गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
सर्लाहीकै धन्कौल गाउँपालिका वडा नम्बर ४ स्थित महिनाथपुर निवासी पत्रकार यादवको उपचारको क्रममा शनिबार साँझ न्युरो अस्पताल कलैयामा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रेस सेन्टर नेपाल सर्लाहीका जिल्ला सदस्यसमेत रहेका यादव मधेशपाटी अनलाइन न्युज पोर्टलमा कार्यरत थिए । यसअघि पत्रकार यादवले सर्लाही स्थित विभिन्न सञ्चार माध्यममा काम गरिसकेका थिए ।
शनिबार साँझ रिर्पोटिङकै क्रममा सर्लाहीको बागमतीबाट घर फर्किने क्रममा उनी सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आएको भारतिय नम्बर प्लेटको बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पत्रकार यादव गम्भीर घाइते भएका थिए ।
टाउँकोसहित शरीरका विभिन्न भागमा गम्भिर चोट लागेका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बाराको कलैयास्थित न्युरो अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचारकै क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो । उनको आज पोस्टमार्टमपछि आज नै दाहसंस्कार गरिने परिवारजनले जनाएको छ ।
प्त्रकार यादव सवार मोटरसाइकलका चालक धन्कौल गाउँपालिका वडा नम्बर ४ स्थित महिनाथपुरका २७ वर्षीय रुपेश यादव र ठक्कर दिने भारतीय मोटरसाइकल चालक बरहथवा नगरपालिका १७ निवासी ३७ वर्षका रामजनक चौधरी दुर्घटनामा सामान्य घाइते भएका छन् ।
उनीहरु दुवै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि घर फर्किसकेका छन् ।
पत्रकार यादवको निधनप्रति प्रेस सेन्टर नेपाल सर्लाहीले दुःख व्यक्त गरेको छ । प्रेस सेन्टर सर्लाहीका अध्यक्ष श्रवण थापाले दुर्घटनाको सत्यतथ्य छानविन गरी पीडितलाई न्याय दिन स्थानीय प्रशासनसँग मागसमेत गरेका छन् ।



