खोजवाणी संवाददाता
सर्लाही, असोज ६
समाजमा सद्भाव कायम गर्नका लागि सर्वदलीय बैठक बसेपनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ ।
धार्मिक अतिवादीहरुका कारण सामाजिक सद्भाव विथोल्ने गर्ने गरी गरेका क्रियाकलापहरुले गर्दा स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि नै मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।
विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन प्रभाविते छ ।
कर्फ्युका कारण शुक्रबार दिनभर बन्द रहेको मलंगवा आज पनि सुनसान छ । मलंगवाका बजार, पसल, कलकारखाना, होटललगायतकाहरु बिहानैदेखि खुलेका छैनन् ।
मलंगवामा आज पनि अनिश्चितकालीन कर्फ्युलाई निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएका छन् ।
गत बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्युअघि बिहीबार राति भएको झडपमा परेर ८ जना घाइते भएका थिए भने यसमध्येका एकजनाको अवस्था गम्भीर छ । उनको वीरगञ्जमा उपचार भइरहेको जनाइएको छ ।
शुक्रबार मलंगवामा केही व्यक्तिले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनको प्रयास गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
मलंगवामा उत्पन्न विवाद समाधानको लागि शुक्रबारसर्वपक्षिय बैठक पनि बसेको थियो । यस बैठकबाट धार्मिक समूहको नाममा मलंगवामा साम्प्रदायिक सद्भाव विथोल्ने किसिमका गतिविधिविरुद्ध खेद व्यक्त गरेको छ ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्व विरुद्ध कडारुपमा प्रशासनिक कदम चाल्ने निर्णयसमेत गरेको उनले बताए ।



