खोजवाणी संवाददाता
जनकपुर, असोज १८

मिथिलाञ्चलमा आजदेखि दुई दिनसम्म चल्ने जितिया पर्व सुरु भएको छ ।

मिथिलाञ्चलमा विधि पूर्वक सुरु भएको यस जितिया पर्वमा आमाहरुले आफ्ना सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने गरिन्छ ।

आज नहाय खाय (स्नान गरी खानु) विधि गर्दै आजदेखि विधिवतरुपमा सुरु भएको हो ।

व्रत बस्नुअघिसम्म व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा स्नान गरी सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाएर खाएर परिवारका सबै सदस्यलाई खुवाउने परम्परा रहेको छ ।

आज शुक्रबार बिहान ४ बजेदेखि निराहार उपवास बसेर निर्जल व्रत बस्दै शनिबार बिहान साढे १० बजेपछि व्रतीले व्रत सम्पन्न गर्नेछ ।

यस पर्वमा व्रतालुले जनकपुरधाम स्थित गंगासागर, धनुषसागर, अंगराजसर सागर, दशरथ तलाउ, भुतही पोखरी तथा विभिन्न जलासययुक्त सरोवरलगायत पवित्र सरोबर, तलाउ,, पोखरी तथा नदीमा स्नान गरेर जितमाहनको कथा आफु भन्दा ज्येष्ठ व्रतीबाट सुन्ने गर्दछन् ।

व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउने परम्परा रहेको छ ।

देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि टाउको तथा शरीर भर नै लगाउने गर्छ । आज पहिलो दिन पूजा गरेपछि माछ मरुवा खाने चलन छ । मरुवा (कोदो)को रोटी, नुनीको साग र माछा खाने परम्परा रहेको छ । माछ मरुवा रोटी बासी खाने चलन छ ।
मिथिलाञ्चलमो जितिया व्रतलाई पवित्र व्रत हो ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार, थुक वा जिब्रो टोके भने व्रत असफल भएको मानिने गरिन्छ । जसले गर्दा यस पर्वलाई खड् जितिया भनेर पनि भन्ने गरिन्छ । व्रतीले एक पटक असफल भएमा उनी आजीवन व्रत बस्न पाउने छैनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेको थियो । त्यसपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिए ।

जसकारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गर्दै राजाको स्मृतिमा उपवास बस्न थालेको थियो । त्यहीबाट जितिया पर्व सुरु भएको धार्मिक एवं पौराणिक भनाइ छ ।

मिथिला क्षेत्रमा पुत्र भएका प्रत्येक आमाले आफ्नो जीवनमा जितिया पर्व गर्ने परम्परा नै रहेको छ । यो पर्व प्रायः आमाले छोराको रक्षा र प्रगतिका लागि वर्षेनी गर्दै आएका छन् ।