खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १२
जनकपुरधाम उपमहानगरपालिकाले आठौँ नगरसभाबाट पारित गरेको बुँदाहरु आफैले कार्यान्वयन नगरी नगरवासीलाई नगरप्रमुख मनोजकुमार साहले ढाटेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखदेखि कर्मचारीसम्मले सातामा एक दिन साइकल चढ्ने र पालिकाको कार्यालय परिसरमा मोटरसाइकललगायतका सवारीसाधन निषेध गरेको निर्णय स्मरण गराएका छन् ।
बढ्दो वातावरण तथा वायू प्रदुषणलाई न्यूनिकरणका लागि जनकपुरधाम उपमहानगरका नगरप्रमुख मनोजकुमार साहलगायत जनप्रतिनिधिहरुदेखि पालिकामा कार्यरत्त रहेका कर्मचारीहरुसमेत साताको शुक्रबारको दिन साइकल चलाउने निर्णय गरेको थियो ।
तर नगरसभाबाट नगरप्रमुख साहले आफै प्रस्ताव गरी पारित गरेको एक महिना नवित्दै उनी आफै चारपांग्र सवारीसाधन प्रयोग गर्दै आफैले गरेको निर्णयलाई बेवास्ता गरेको भन्दै यूवा अभियन्ताहरुको एक टोलीले नगरप्रमुख साहलाई स्मरण गराउँदै तीन बुँदे माग कार्यान्वयनका लागि आग्रहसमेत गरेका छन् ।
स्थानीय युवा रक्की प्रसाद साह, बलिराम कापरी र शिवचन्द्र झाले संयूक्तरुपमा नगरप्रमुख साहलाई आग्रह पत्र बुझाउँदै आफैले नगरसभा मार्फत नगरवासी समक्ष गरेको वचन पालनाका लागि तीन बुँदे माग कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
युवा अभियन्ताहरुले संचारकर्मीलाई दिएको अन्तरवार्तामा बोले अनुसार शुक्रवार पालिका परिषरमा मोटरसाइकल निषेध गरि कार्यन्वयन गरियोस्, यदि कुनै कारणले मोटर सवारी पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई चलाउन आवश्य भए त्यसको मापदण्ड तय गरी सार्वजानिक गरियोस् तथा यस अभियानलाई पालिकाको तर्फबाट कार्यान्वयन गर्न नसके गरिएका निर्णयहरु फिर्ता लिनुस, बोलेका शब्दहरु फिर्ता लिनुस र नगरवासी समक्ष माफी माग्दै यो अभियान पालिकाले कार्यन्वयन गर्न नसकेको सार्वजानिक गरियोस् भन्ने माग कार्यान्वयनका लागि आग्रह गरेका छन् ।
उनीहरुले माग प्रति नगरप्रमुख साह गम्भीर नभए आगामी कदम थप कडा हुने भन्दै चेतावनीसमेत दिएका छन् ।
सो निर्णय २०७९ असार १० गते भएको नगरसभाबाट जनकपुरधाम उपमहानगरका नगरप्रमुख साहले जनप्रतिनिधिदेखि कर्मचारीसम्मले साताको शुक्रबारको दिन साइकल चढेर वातावरणलाई स्वच्छ राख्ने अभियान चलाउने र राज्यको ढुकुटीसमेत सदुपयोग हुने भन्दै उनले आफैले सो निर्णय गरेको थियो ।




