मिथुन साह

जनकपुर । केन्द्रिय राजनीतिमा सत्ता समीकरण फेरबदल भएसंगै सोको असर मधेश प्रदेश सरकारमा समेत पर्ने भएको छ ।

करिब एक महिना मात्रै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिदैछन् ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले शनिबार प्रदेशसभामा विश्वासको मत लिने छन् ।

मधेश प्रदेशमा सोको प्रभाव पर्ने सम्भावना देखिए पनि अहिलेसम्म भने सो परिस्थिति बन्ने सकेको छैन । तर नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले मधेश प्रदेशको सरकारमा मधेश केन्द्रित दललाई दिने सहमति गरेपछि जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतका दलहरु मधेश प्रदेश सरकारको नेतृत्व पाउन तछाडमछाड गरिरहेका छन् ।

तर मधेश प्रदेशमा संघीय सरकारका लागि भएको गठबन्धनले भने मधेश प्रदेश सरकारलाई अहिलेसम्म खासै छुन सकेको छैन ।

मधेश प्रदेशसभामा चौँथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।

कूल एक सय सात सदस्य रहेको मधेस प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात प्रदेशसभा सदस्य छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सदस्य रहेका छन् ।