प्रहरी मुकदर्शक

खोजवाणी
जनकपुरधाम ।

हिन्दूहरुको धार्मिक आस्थाको केन्द्र जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरुको गरगहना चोरी हुने क्रम रोकिएको छैन । आन्तरिक तथा बाह्यबाट माता जानकीको दर्शन गर्न आउने तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाक, पर्समा राखिएको मोवाइलदेखि सुनका गरगहनालगायतका सामग्रीहरु चोरिने क्रम बीचमा रोकिएको थियो ।

तर जानकी मन्दिरको गर्भगृह अगाडि राखिएको फलामे रेलिंग हटाइए पछि बुधबार बिहानै देखि साँझसम्ममा आधा दर्जन महिला श्रद्धालु भक्तजनले लगाएको गरगहना चोरी भएको छ । चोरी भए पनि उनीहरुको सुनको गरगहना पाउने आश भगवान बाहेक कोही माथि नरहेको पीडित महिलाहरु बताउँछन् ।
यसले गर्दा मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए (स्नेचिंग)पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश गएको छ ।

बुधबार जानकी मन्दिरमा भीडभाडका कारण गर्भगृह अगाडि लगाइएको फलामे बार्केट हटाउँदा आधा दर्जन महिलाको सुनको आँैठी, सिक्रिदेखि गरगहनासम्म चोरी भएको जनाएको छ । पछिल्लो पटक आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो ।

भारतबाट माता जानकीको दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये दुईजनाको घाँटीको सुनको सिक्रि लुटिएको थियो । त्यसपछि मन्दिर परिसरमा र गर्भगृह अगाडि समेत सिसिटिभि क्यामेरा जडान गरिएको थियो भने फलामे बार्केट लगाइएपछि चोरी न्यूनीकरण भएको थियो । तर बुधबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरुको अत्यधिक भीडभाड थियो । सो क्रममा बार्केट हटाइएपछि चोरीको घटनामा वृद्धि भएको स्थानीय एक महिलाले बताइन् ।

स्थानीय पूजा शर्माले मन्दिरमा महिला र पुरुष भक्तजनका लागि व्यवस्थित ढंगले दर्शनका लागि ठाउँ नछुट्याउँदा विभिन्न किसिमका घटनाहरु घटि रहेको बताइन् ।मन्दिर भित्रै चोरी लुटपाट हुनु दुर्भाग्य रहेको बताउँदै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की रुणा कुमारी साहले जानकी मन्दिरमै पर्यटनको सुरक्षाको नाममा रहेको प्रहरी हात्तीको देखाउने दाँत भएको आरोपसमेत लगाइन् ।
यस प्रकारको घटना नियमित भइरहे पछि मन्दिरमा पर्याप्त सीसीटीभी क्यामरा जडान गरिएको छ । तर गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सीसीटीभी कैमरा जडान गरिएको थिएन । मन्दिरमा श्रद्धालुहरुको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बिट भित्री परिसरमा नै राखिएको छ । मन्दिरको बाहिरी परिसरको विवाहमण्डप परिसरमा जानकी प्रहरी चौकी रहेको छ । हाल सम्म मन्दिरमा

श्रद्धालुहरुको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन् । न त प्रहरीले चोर नै समात्न सकेको छ ।
माता जानकी मन्दिरको मुख्यद्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ । सो कोठादेखि १० मिटरको दूरीमै स्नेचिंग हुने गरेको छ । तर प्रहरीले आजसम्म स्नेचिंग गर्नेको पहिचान समेत गर्न सकेको छैन । प्रहरीको भूमिकामाथि कतिपयले प्रश्नसमेत उठ्दै आएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरीएको गहना बरामद गर्ने दाबी गरे । प्रहरी उपरीक्षक तिवारीले बार्केट हटाउनु परेको कारण र चोरी भएको घटनाबारे अनुसन्धान थालिने भन्दै तत्काल चोरी नियन्त्रण गर्ने बताए ।