खोजवाणी
जनकपुरधाम ।
धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट करिब ३ बजेदेखि नै थुना कक्षबाट पालैपालो फरार भएका छन् ।
सोमबार बिहान करिब ६ बजेतर्फ थुनुवा फरार भएको जानकारी पाए पछि धनुषाको सीमानाकामा कडाइ गरिएको छ ।
जिप्रका धनुषाको कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फुटाएर थुनुवाहरू फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले सोमबार बिहान करिब ४ बजेतर्फ हिरासत कक्षको भेन्टिेलेटर फोरेर फरार भएका ९ जना थुनुवामध्ये एक जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । उनले फरार अन्य ८ जना थुनुवाको खोजी भइरहेको बताए ।
जिप्रका धनुषाको हिरासतमा रहेका जनकपुर–२० स्थित रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, सिरहा–१३ का भास्करकुमार यादव, धनुषा देउरी परवाहा–४ का विशाल मुखिया, नगराईन–२ का मनिष मण्डल र जनकपुरधाम–४ का बिक्की कार्की फरार भएको प्रहरी नायब उपरीक्षक अवाले बताए । फरार भएका १ जना अभद्र व्यवहारमा पक्राउ परेका नाबालकसमेत छन् । फरार भएकाहरू लागूऔषध र अभद्र व्यवहारमा पक्राउ परेका छन् ।
जिप्रका धनुषामा दुईतले आधुनिक हिरासत कक्ष छ । हिरासत कक्षको भुईंतलामा थुनुवाको सामूहिक कक्ष छ । हिरासत कक्षको माथिल्लो तल्लामा महिला थुनुवा राखिन्छ । तल्लो र माथिल्लो दुवै तलामा सेन्ट्री बसे पनि एकैपटक ९ जना थुनुवा फरार भए पछि धनुषा प्रहरीमाथि गम्भीर प्रश्न उठाउँदै चोरीको घटनामा वृद्धि हुनु र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै स्थानीयहरुले आशंका व्यक्त गरेका छन् ।



