खोजवाणी
जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरो डुबानजस्ता विपद्मा केपी ओली नेतृत्वको सरकारले बाढीपहिरो, डुबान र विस्थापित भएकाहरुका लागि केही गर्न नसक्नुलाई निरीहता प्रदर्शनको संज्ञा दिएका छन् ।
धनुषाको कमला नगरपालिकास्थित लगमा बजारमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले विपद्मा पीडित जनताका लागि गर्नुपर्ने कामकाजहरु गर्न नसक्नु निरीहताको पराकाष्टा रहेको बताए । उनले विपद्को समयमा तत्कालै पीडितका लागि सरकारले गर्नुपर्ने कामहरु गर्न नसक्नुले सरकारको असक्षमता रहेको आरोपसमेत लगाए ।
उनले भने, ‘बाढी पीडितलाई अहिलेसम्म पनि सरकारले राहत, व्यवस्थापनमा सरकार अन्योलता देखिएको छ भने, मृतक परिवारलाई क्षतिपुर्तिसमेत दिन नसक्नु दुःखद छ ।’ सरकार अहिलेसम्म पनि राहत व्यवस्थापनमै अन्योलतामा रहेको उनले बताए । उनले तत्काल पीडित परिवारलाई राहतको व्यवस्थापन गर्नसमेत सरकारसंग माग गरे । वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार लामो समयसम्म नटिक्न दाबी गरे ।
सो कार्यक्रममा पूर्वमन्त्री तथा प्रभावशाली नेता रामचन्द्र झा, नेकपा एस मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव, स्थायी समिति सदस्य सत्रुध्न महतो, सांसद रत्नेश्वरलाल गोइत, पोलिटव्यूरो सदस्य श्रीप्रसाद साहलगायतका पार्टीका जिल्ला अध्यक्ष, सचिवको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेकपा एसमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपाललगायत विभिन्न दल परित्याग गरी दुई हजारभन्दा बढीलाई प्रवेश गरेको नेकपा एस धनुषाका जिल्ला सचिव राजकुमार यादवले जानकारी दिए ।
पूर्व वडाअध्यक्ष विशेश्वर यादव, षडानन्द यादवको अगुवाईमारु पार्टी प्रवेश गरेका नवप्रवेशीलाई अध्यक्ष नेपालले गम्छा, फुल माला र अविर लगाएर पार्टीमा प्रवेश गराइएको जिल्ला सचिव यादवले बताए ।



