जनकपुरधाम ।
धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको विवादले गर्दा कर्मचारीले महिनौँदेखि तलबबाट वञ्चित हुनु परेको छ भने सेवाग्राहीलाई बाध्य भएर सास्ती खेप्नु परिरहेको छ ।
पाँच महिनादेखि नगराइन नगरपालिकाको कामकाज ठप्प हुँदा कर्मचारीसमेत आन्दोलित भएका छन् । चाडपर्वको बेला पनि तलबभत्तालगायतका सेवासुविधाबाट वञ्चित हुँदा करिब एक महिनादेखि कर्मचारी पनि आन्दोलनमा उत्रेका छन् ।
नगराईन नगरपालिकाको नगरसभामा उपमेयर पक्ष अनुपस्थित हुँदा चालु आर्थिक वर्षको बजेटसमेत पारित हुन सकेको छैन ।
नगरसभा हुन नसक्दा नगराईन नगरपालिकामा विकास निर्माणका कामकाजदेखि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुसमेत विगत पाँच महिनादेखि तलब पाउनबाट वञ्चित छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादव र नेकपा एमालेबाट निर्वाचित उपमेयर राधादेवी यादवबीचको विवादका कारण नगरसभा हुन छैन ।
मेयर विनयकुमार यादवले नगराईन नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई तिहाई रहेकै कारण बेलाबखत विभिन्न किसिमले बार्गेनिंग गर्नेलगायतको आरोप लगाउँदै आफूलाई असफल पार्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
नगराईनमा आज पत्रकार सम्मेलन आयोजना गर्दै मेयर यादवले एमालेकै हठका कारण नगराईन नगरपालिकाको नगरसभा हुन नसकिरहेको आरोप लगाए । उनले उपमेयर राधादेवी यादवले नगराईन नगरको योजनामा मेयर तथा उपमेयर राख्नै पर्ने अड्डि कसेपछि नगरसभा प्रभावित हुँदै आएको बताए । उनले भने ‘नगराईन नगरमा विकास भयो भने त्यसको श्रेय मेयरलाई जाने भ्रम एमालेका साथीहरुलाई लागेको छ, त्यो भ्रमबाट निस्किन म एमालेका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’
उनले अघि थप्दैँ भने, ‘असार १० मा नगरसभा गर्नेमा एमाले, कांग्रेस, लोसपा नेपाललगायतका सबै दल सहमत थिए, हामी नगरसभाकालागि समयमै पुगेका थियौँ, उनले अघि थप्दैँ भने ‘नगरसभा गर्ने सहमति गरेर एमालेका साथीहरु त्यो दिन नगरसभामा उपस्थित नै नभएर नगरसभा नै प्रभावित भएको थियो ।’
त्यसपछि पनि पटक पटक नगरसभाका लागि आग्रह गर्दा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगरसभाका लागि तयार नभएको उनले आरोप लगाए ।
उनले एमालेका उच्च तहका नेताहरुको इसारामा एमालेका साथीहरु नगरसभा हुन दिने पक्षमा नरहेको जिकिर गरे । एमालेका उच्च तहका नेताहरुलाई समेत नगरसभालाई अवरोध नगरिदिन आग्रह गरे ।
यता उपमेयर राधादेवी यादवले आफूहरुको माग पूरा नगर्दा आफूहरुले नगरसभा बहिष्कार गरेको बताइन् । उनले नगरसभामा स्थानीय कार्यविधि संचालन सम्बन्धी ऐन नै संशोधन गर्न माग गरिन् ।
नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालबाट १ जना जनप्रतिनिधि रहेका छन् ।



