जनकपुरधाम ।
लामो समयदेखि नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादव बीच उत्पन्न विवादका कारण पाँच महिनादेखि नगरसभा हुन सकेको छैन ।
नगराईन नगरपालिकाको नगरसभा नहुँदा कर्मचारीको तलब निकासादेखि सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवाहरुबाट सेवाग्राहीहरु वञ्चित हुनु परेको छ ।
नगराईन नगरपालिकाका मेयर विनयकुमार यादवले उपमेयरका कारण नगरपालिकाको कामकारबाही प्रभावित भएको आरोप लगाएको केही दिनमै उपमेयर राधादेवी यादवले मेयरमाथि विभिन्न आरोप लगाउँदै सो आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।
असारभित्र स्थानीय तहको नगरसभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर पनि मेयर र उपमेयरबीचको विवादका कारण पाँच महिनादेखि नगरसभा हुन सकेको छैन भने सो पालिकाका शिक्षक र कर्मचारीहरु पनि तलब भत्ता नपाएको भन्दै आन्दोलनमा छन् ।
नगराईन नगरपालिकाकी उपमेयर राधादेवी यादवले आज पत्रकार सम्मेलन आयोजना गरी कर्मचारीको तलब भत्तालगायतका सेवा सुविधाहरु, सेवाग्राहीलाई दिनुपर्ने सामाजिक सुरक्षा, सेवा तथा सुविधाहरु, शिक्षा एवं स्वास्थ्य क्षेत्रतर्फका बजेट खर्चलगायतका अत्यावश्यक सेवाहरु प्रवाह गर्नका लागि आफूहरुले पटकपटक मेयर विनयकुमार यादवलाई आग्रह गरेको बताइन् । तर कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले आफूहरुको नाममा तलबभत्ता रोकेर राजनीति गर्न खोजेको आरोप मेयर यादवमाथि लगाए ।
आफूहरुको माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने भन्दै उपमेयर राधादेवी यादवले आफूहरुको कारण कुनै पनि सेवाग्राहीको सेवा सुविधा र कुनै पनि शिक्षक तथा कर्मचारीको तलब भत्तालगायतका सुविधाहरु तत्काल उपलब्ध गराउनका लागि मेयरसंग उनले आग्रह गरिन् ।
उपमेयर यादवले भनिन्, ‘नगराईन नगरपालिकामा कार्यविधि संशोधनको विवादले गर्दा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी मेयरले लिनैपर्छ ।’ गत वर्ष आन्दोलनको क्रममा भएको सम्झौतामा समेत आफूहरुलाई मेयर यादवले झुक्याउन सफल भए पनि उनी आफै सो सम्झौता कार्यान्वयन गर्नबाट पछि हटेको बताए । उनले भनिन्, ‘मेयरजीले आफूहरुसंग विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नबाट पछि हट्नु भयो, जसले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रेका हौँ ।’
उपमेयर यादवले नगराईन नगरपालिकाको कामकाज ठप्प हुनुको कारण मेयर नै रहेको दाबी गर्दै उनले यस नगरपालिकाको कामकारबाहीलाई जोडेर नेकपा एमालेकी नेतृ जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम जोड्नु गलत रहेको बताइन् ।
उनले मेयरसंग विगतमा कार्यविधि संशोधन गरी बजेट संचालनसम्बन्धी अधिकार उपमेयरमा पनि निहित रहने भनि भएको सम्झौताको आधारमा कार्यविधि संशोधन नहुँदा पाँच महिनादेखि हामी आन्दोलनमा रहेको बताइन् ।
नगराईन नगरपालिकाका कार्यकारी सदस्य रामदुलार मुखियाले मेयर यादवले संशोधनका लागि रोक लगाएर हामीलाई झुक्याउँदै खेलाउन खोजेपछि बाध्यतावश आन्दोलित भएको बताए ।
त्यस्तै नगराईन –८ का वडाअध्यक्ष सञ्जय राउतले मेयरसंग भएको उपमेयरलाई आर्थिक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन सम्बन्धी सम्झौता कार्यान्वयन नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
वडाअध्यक्ष राउतले नगराईन नगरपालिकालाई कुनै पनि अवस्थामा भ्रष्टाचारको अखाडा बन्न नदिने बताए ।
नगराईन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालका १ जना जनप्रतिनिधि छन् ।
यो पनि पढौँ ।
नगराईनको नगरसभा नहुँदा कर्मचारी तलबबाट वञ्चित, सेवाग्राहीलाई सास्ती
मेयर यादव कांग्रेसबाट निर्वाचित छन् भने एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छिन् ।
विगतमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ९ महिनासम्म आन्दोलन गरेपछि कर्मचारी र शिक्षक तलबभत्तालगायतका सेवा सुविधाका लागि, ज्येष्ठ नागरिकलगायतकाले सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधाका लागि र विद्यार्थीले अध्ययनका लागि आन्दोलन नै गरेका थिए ।



