नेपाल–रोमानिया बीच समझदारी पत्रमा हस्ताक्षर
खोजवाणी संवाददाता
काठमाण्डौ, असोज १९
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरत सिंह भण्डारी र रोमानियाकी श्रम तथा सामाजिक एकता मन्त्री सिमोना बुकुरा–ओप्रेस्कु बीच समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीति अनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिनका लागि द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका महामहिम राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलसमेतको सहभागित रहेको थियो भने रोमानिया पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त द्विपक्षीय वार्तामा मन्त्री भण्डारी नेपाली कामदारसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझादारीका आवश्यकता तथा प्रभावका बारेमा प्रस्तुत गरेका थिए । रोमानिया पक्षबाट नेपाली कामदारको हकहित, सुरक्षा कायम गर्नेलगायतका प्रतिबद्वता व्यक्त गर्दै उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रुपमा कामदारको छनोट तथा छोटो अवधिमा कामदार ल्याने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो लिएका थिए ।
यूरोपेली मुलुक, रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहेको र श्रम बजारको फराकिलो संभावना रहेकोले नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको छ ।
प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयमा नेपाली श्रमिकहरुका लागि सम्भावित सिपयुक्त श्रम बजारको पहिचान गर्नकासाथै महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्नेजस्ता कार्यलाई प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहाना रोमानिया पक्षले आफ्ना मागहरुबारे जानकारी गराएका थिए ।
त्यस्तै दोहोरो कारार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सिप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको छ ।
रोमानियामा ठूलो संख्यामा आप्रवासी कामदारहरुको माग रहेको, नेपाली कामदारहरुको कार्य स्वभाव, इमान्दारीता, लगनशिलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट कामदार छोटो समयमा व्यवस्थित गरेर भर्ति मार्फत रोमानिया ल्याउने कानूनी प्रावधान तथा व्यवस्थापनका बारेमा चासो व्यक्त समेत गरिएको मन्त्री भण्डारीको स्वकीय सचिवालय रञ्जित झा निष्पक्षले जानकारी दिए ।
कामदारको सामाजिक सुरक्षाको हकमा रोमानियमा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षबाट प्रतिवद्वता व्यक्त गरिएको उनले बताए ।